Welcome to this blog, you can find notes of all HSEB syllabus here. If you have any comment please leave down there and visit again. Thank you
Showing posts with label Kids Corner. Show all posts
Showing posts with label Kids Corner. Show all posts

Friday, February 15, 2013

क ख ग घ (नेपाली वर्णमाला)

क्षत्रज्ञ

गाई

गाई   - शिवगोपाल रिसाल
गाई हाम्रो पशुधन, गोठको शोभा गाई
गाईजस्तो अरू छैन गाउँघरलाई
गाई पाल्ने देश हाम्रो गाईलाई मान्छ
वर्षैपिच्छे तिहारमा गाईको पूजा हुन्छ
घाँसपात, कुँडो, पराल, भुस्सा यसले खान्छ
अरूभन्दा तागतिलो दूध यसले दिन्छ
दूधबाट दही बन्छ, दहीबाट घिउ
दूध, दही, घिउ खाँदा राम्रो हुन्छ जीउ
घर लिप्न, चोख्याउन गोबर यसले दिन्छ
खेतबारीमा हाल्ने मल गोबरबाट बन्छ
मर्दा-पर्दा, धर्म गर्दा गौदान गाईकै हुन्छ
गुइँठो पारेपछि गोबर बाल्न पनि हुन्छ
गाईका काम धेरै हुन्छन्, कामधेनु गाई
गाई आमा पनि भन्छौँ हामी गाईलाई
हामी गाईको माया गर्छौँ गाईका धेरै गुन
यो राष्ट्रिय जनावर नेपालको धन

रमाइलो धर्ती

रमाइलो धर्ती   - कृष्णप्रसाद पराजुली
हराभरा धर्ती राम्रो, नीलो आकाश राम्रो
घाम राम्रो, दिन राम्रो, जून पनि राम्रो
धर्तीभरि रमाइला कुरा धेरै हुन्छन्
पहाड, मैदान, खोलानाला, वनपाखा हुन्छन्
हिमालबाट तल झरी थरीथरी नदी
समुन्द्रमा मिल्न जान्छन् सललल बगी
ढुङ्गा हुन्छ, माटो हुन्छ, रूख यहीँ हुन्छ
जीवजन्तु सबको बास धर्तीमा नै हुन्छ
रमाइलो हिउँद-वर्षा घुमीफिरी आउँछ
फलफूल, अन्नपानी धर्ती उब्जाउँछ
धर्तीमा नै रहेका छन् सुन-तामाका खानी
राम्रो लाग्छ यही धर्ती, राम्रो घामपानी

सरस्वतीको प्रार्थना

सरस्वतीको प्रार्थना
सरस्वती, सुन्दर मूर्ति तिम्रो
कस्तो अहो, उज्जवल रूप तिम्रो
छ्यौ हाँसका वाहनमा चढेकी
सेतो सफा पैरनमा खुलेकी
वीणा लिएको कर एक तिम्रो
किताब अर्को करमा छ तिम्रो
देवी, तिमी बुद्धि-विवेक दिन्छ्यौ
मुहान विद्याहरूकी तिमी हौ
आमा तिमीमा अति भक्ति राखी
तिम्रा दुई कोमल पाउमाथि
झुकाउँदै माथ प्रणाम गर्छौँ
विद्या मिलोस् आसिक नित्य माग्छौँ
पढ्छौँ सधैँ पढ्न सिकाइदेऊ
लेख्छौँ सधैँ लेख्न लगाइदेऊ
अज्ञानको नाश गराइदेऊ
सरस्वती, ज्ञान बढाइदेऊ

मने हाम्रो साथी

मने हाम्रो साथी
मने हाम्रो साथी
कति राम्रो पाठी!
मने घरी-घरी
नाच्छ वरिपरि
आँगन, बारी डुली
खेल्छौँ मिलीजुली
पानी खान्छ चर्छ
छुनुमुनु गर्छ
म्याँम्याँ मने फुरुक्क
उफ्रिदिन्छ बुरुक्क
मने हाम्रो साथी
कति राम्रो पाठी!

बिहानीको गीत

बिहानीको गीत   - गणेश 'विषम'
चिरबिर गर्छ गौँथली हाम्रै घर आँगनमा
फुरफुर गर्छ पुतली हाम्रै फूलबारीमा
हाम्रा राम्रा वनचरी बिहानी पो डाक है
आजभन्दा भोलि झन् अझ राम्रो पार है
के के भन्छौ पालुवा बोलेजस्तै गरेर
हाम्रै वन डाँडामा तिमीहरू झुलेर
हामी त बालक साना छौँ सबै राम्रो देख्दछौँ
बारीकै फूल टिपेर बिहानीलाई पुज्दछौँ
हिमालका चुलीमा सूर्यका ज्योति छरिए
पहेँलपुर भुइँमा हिमाली पाखा चम्किए
धोबिनी चरी बसेर फूलबारीमा गाउँछे
विकासको बिहानी सूर्यसँगै आउँछे

कानाकाना कुर्र

कानाकाना कुर्र   - दैवज्ञराज न्यौपाने
कानाकाना कुर्र
नानी दौड्यो खुर्र
चरी उड्यो भुर्र
कानाकाना कुर्र
माथि बादल भाग्यो
तल घाम लाग्यो
बतास चल्छ हुर्र
कानाकाना कुर्र
फूल राम्रो बेली
यस्तै खेल खेली
मन हुन्छ फुर्र
कानाकाना कुर्र

बिचरी चरी

बिचरी चरी   - लेखनाथ पौड्याल
वर्षा याम एक दिन ठुलो पानी पर्‍यो
काला-काला बादलुले सेता गेडी झार्‍यो
झ्याम्म-झुम्म रूख थियो घरदेखि पारि
त्यही रूखमा गुँड लगाई बस्थे दुइटा चरी
चिर्र-चिर्र मिरमिरेमा गीत सुनाउँथे
आफ्नै काम गरी गरी दिन बिताउँथे
चुट्नसम्म चुट्यो आज पार्‍यो चिलबिल
बतासले हाँगो लुछ्यो गुँड पुग्यो तल
हेर तिनको दुःख देख्दा हाम्रो मन रुन्छ
आज तिनको दुःख बुझ्ने ज्ञानी मान्छे हुन्छ

ताराबाजी लै लै

ताराबाजी लै लै
ताराबाजी लै लै
मामा आए घोडा
माइजू आइन् डोली
पापा ल्याइन् सोली
बाँडी खाउँला भोलि
बुबु-माम सुपुक्क
काफलगेडी कुटुक्क
निदाइजाऊ लुटुक्क।

कमिलाको ताँती

कमिलाको ताँती   - माधवप्रसाद घिमिरे
हेर हेर साथी हो कमिलाको ताँती यो
दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो
एउटा साथी आएर दिन्छ केको खबर
लगातार अगाडि बढ्छ लावालस्कर
आज जान्छ जन्ती यो कुन देश कुन घर
कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर
हाम्रो फूलबारीमा रूखमुनि स्याउको
राखेको छ ढोकामा सेतो छाता च्याउको
पहारिलो कान्लामा सानु-सानु दुलो छ
बाहिर त्यहाँ धूलो छ भित्र दरबार ठुलो छ
कमिलाकी रानी त्यै दरबारमा बस्छिन् रे
आकाशकी इन्द्रेणी धर्तीभित्र पस्छिन् रे
कमिलाकी रानीको आज बिहा हुन्छ रे
घामपानी परेको आज राम्रो दिन छ रे

पाप लाग्छ

पाप लाग्छ   - लक्ष्मीप्रसाद देवकोटा
नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ
नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ
न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ
धुलो नफेक्नु नानी हो
उडेर भित्र ढाक्दछ
हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ
बनेर फुलझैँ सधैँ
हँसाउनू सुवास दी
सधैँ रमाउनू जगत्
रमेर नित्य आस दी
जताततै छ ईश रे
छ सुन्नु त्यो विचार रे
छकाउने लुकाउने
नराख भाव क्यै गरे

मेरो सानो खरायो

मेरो सानो खरायो   - कल्पना प्रधान
मेरो सानो खरायो
आज कता हरायो।
हिजो सँगै खेलेथ्यौँ
घर भित्रै भुलेथ्यौँ
को पहिला पुग्ने हो
भन्दै हामी कुदेथ्यौँ।
मेरो सानो खरायो
आज कता हरायो।
खोज्दा खोज्दै दिन बित्यो
डुब्न लाग्यो घाम
कसले देला बुबु उसलाई
कसले देला माम।
मेरो सानो खरायो
आज कता हरायो।
चिथोर्छ कि बिरालाले
गर्छ म्याउँ-म्याउँ
खोजी गर्न लौन आमा
हामी सँगै जाऔँ।
मेरो सानो खरायो
आज कता हरायो।
खाटमुनि लुक्यो कि
आँगनीमा पुग्यो कि
भालु आई चोरेर
जङ्गलतिर लग्यो कि
मेरो सानो खरायो
आज कता हरायो।

टालाटुली बटुली



टालाटुली बटुली
कति राम्री पुतली
सानी पनि छैन रे
ठूली पनि हैन रे
जीउ सुत्त परेकी
पहेँली र पातली
कति राम्री पुतली
लाइदिऊँ कि बुलाकी?
टिकी राम्रो होला कि?
कोरीबाटी चुलठी
आँखा दुवै गाजली
कति राम्री पुतली

कुखुरी काँ

कुखुरी काँ

कुखुरी काँ
बासी भात खाँ।
खोइ बासी भात?
बिरालोले खायो।
खोइ बिरालो?
मुसो मार्न गयो।
खोइ मुसो?
दुलोभित्र पस्यो।
खोइ दुलो?
गाईले कुल्चियो।
खोइ गाई?
खोलोले बगायो।
खोइ खोलो?
सुक्यो।

Saraswati Vandhana




सरस्वती मया दृष्टा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती